प्रहरी प्रमुख खनालले र्निमला हत्या काण्डमा प्रहरीको अनुसन्धानमा कम्जोरी भए आफ्नो बर्दि खोलिदिने बताए

nirmala-pant-case-handling-by-igp-sarbendra

२४ मंसिर, काठमाडौँ – नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय समितिलाई र्निमला पन्तको बलात्कार पछि हत्याको घटनाको अनुसन्धान साँघुरिदै गएको बताउनु भएको छ । उहाँले राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष चाँहि कहिले आउने भन्ने समय तय गर्न नसकिने बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ” भन्नुभयो ।

गएको साउन १० गते कञ्चनपुरकी बालिका र्निमला पन्तको बलात्कार पछि हत्या गरिएको घटनाका हत्यारा फेला नपरेको विषयमा आवाज उठिरहेको सन्दर्भमा संसदीय समितिले आज प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई आमन्त्रण गरेको हो ।

घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम समेत भइसकेको र अनुसन्धान जारी रहेको महानिरीक्षक खनालले बताउनुभयो । खनालले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही संकास्पदहरुको नाम हतारमा सार्वजनिक गरेका कारण अनुसन्धानमा कमजोरी भएको बताउनुभयो ।

महानिरीक्षक खनालले ९७.५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको नियन्त्रणमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गर्नुभयो । उहाँले राष्ट्रविरोधी र गैरसमाजिक गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही पनि गरिएको जानकारी दिनुभएको छ ।

महानिरीक्षक खनालले “कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ” भन्नुभयो ।

उहाँले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताउनुभयो । समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए । समितिका सदस्य सरिता प्रसाईंले प्रश्न गर्दै भन्नुभयो, “जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ र”

सांसद विमला राई पौडेलले सहि अपराधी फेला नपरे सम्म प्रमाण मेटाउनेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको सबै जानकारी दैनिक सार्वजनिक गर्न माग गर्नुभयो थियो ।

Facebook Comments