प्रधानमन्त्री ओलीको सरकारलाई राजपाको चेतावनी

prime-minister-oli-warned-by-keshav-jha

काठमाडौं, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले अबको ६ दिनभित्र पार्टीले सरकारबाट समर्थन फिर्ता बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्टडाउन सुरु भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’

नेता झाले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको याद गराउँदै भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभएको त थियो । हामीले पनि चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया भने अघि बढाउने कुनै सुरसार देखाएको छैन’

सिँगो मधेशका जनता सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग आक्रोशित रहेको बेला आफूहरुले जोखिम मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताए । ‘हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान भने संशोधन भएन’, उनले भने ।

सरकार गठन भएको ९ महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधान संशोधनको लागि आजसम्म इमान्दार प्रयास नगरेको भन्दै उनले भने, ‘सरकारले साँच्चिकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दश दिनभित्र संशोधन हुन्छ। तर, सरकारले हामीलाई बारम्बार धोका दियो । अब त हाम्रोपनि धैर्यताको बाँध टुट्यो।’

मधेशी जनताले आफूहरुलाई संविधान संशोधन हुनेहोइन भए आन्दोलन गर्नका लागि मधेश झर्न डर दिइसकेको उनको दाबी छ । ‘हामी अहिले बाध्यकारी अवस्थामा छौं, अब हामी यो ६ दिन पर्खिन्छौं। त्यसपछि पनि केही नभए समर्थन फिर्ता लिएर आन्दोलनको लागि मधेश झर्छौं।’

अब हुने आन्दोलनमा आफूहरुलाई २ नम्बर प्रदेशको साथ र समर्थन हुँने उनले स्पष्ट पारेका थिए । झाले भने, ‘अब हुने हाम्रो आन्दोलनमा एउटा प्रदेशको सरकार मात्र साथमा हुनेछ । यसले केन्द्रीय सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्दछ ।’

Facebook Comments