प्रधानमन्त्री केपी ओली भन्नुहुन्छ सरकारलाई छोटो अवधिमा बिकास गर्ने जानकारी छ

kp-oli-said-government-know-how-to-develop

श्रोतः अनलाइन खबर

छोटो अवधिमा चाँडो विकास कसरी गर्ने भन्ने जानकारी सरकारलाई छ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।

सरकारले गठन गरेको मानव संशाधन प्रक्षेपण कार्यदलको छलफललाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासलाई कसरी छिटै अगाडि बढाउनुपर्छ भन्ने सरकारलाई थाहा भएको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ’, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’

प्रधानमन्त्री ओलीले देश विकासका लागि कस्तो मानव संशाधन चाहिन्छ भन्ने विषय पत्ता लगाउन महत्वपूर्ण रहेको बताए । ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्छ’ प्रधानमन्त्रीले भने ‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौं सम्मका लागि जनशक्तिको आपूर्तिलाई मार्गदर्शन गर्नुपर्दछ ।’

कार्यदलका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले यस विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहिरो अध्ययनका साथ कार्य गर्न निर्देशन दिएका छन् । ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति ,शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनुपर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा. रुद्र सुवालको संयोजकत्वमा ७ सदस्यीय मानव संशाधन कार्यदल गठन गरेकोे थियो । कार्यदलको सदस्यहरुमा डा।माधव दाहाल, डा।इन्दिरा पराजुली, डा।विश्ववाला थापा, डा. विजयदत्त, डा. ध्रुव गौतम र डा. राजेश अहिराज रहेका छन् । समितिको म्याद चार महिना रहेको छ ।

कार्यदलको निर्देशक समिति शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ ।

Facebook Comments